Skip to main content

सञ्जीवलाई करोडौँ कस्तूरी ले छुँदै छोएन रे


सञ्जीव पोखरेलले "करोडौँ कस्तूरी"को बारेमा आफ्नो ब्ल्गमा लेखेका कुरालाइ छोटकरीमा यहाँ उतारिएको छ:

सञ्जीवले दुई वर्षअघि अमर न्यौपानेको "सेतो धरती" पढेका रहेछन् जसमा एक विधवा नारीको जीवनलाई स्थीर, उदास र मार्मिक ढङ्गमा वर्णन् गरिएको थियो । बहुतै अनुशासित प्रस्तुति रहेको सो उपन्यास्मा बाट उनल अमर न्यौपानेको लेखाइमा ठोस दिशा र दृष्टिकोण पाउन सकेका रहेनछन् ।

उनले अमर न्यौपानेको लेखाइ भन्दा पनि मदन पुरस्कार विजेता भएको ले "करोडौँ कस्तूरी" पढ्ने रहर गरेका रहेछन ।

"करोडौँ कस्तूरी" पढेर उनले 'छायाँ कथा' भनेको के हो भन्ने थाहा पए । आत्मकथाको शैलीमा लेखिएको यो उपन्यास र कलाकार हरिवंश आचार्यको जीवनीमा कुनै हिसाबमा आधारित आख्यान रहेछ - उनलाई 'पात्र-बिम्ब' बनाएर लेखिएको । उपन्यासको ढाडमा छापिएको सन्देशबाहेक अमरको उपन्यासलाई हरिवंशले कसरि लिए त्यो उनै जानुन् । भरखरै उनको आत्मकथा 'चिना हराएको मान्छे' पढेको भएर पनि होला मलाई भने उपन्यासको विषयवस्तु छनौट नविन लागेन -भलै करोडौँ कस्तूरीको कथा हरिवंशको आत्मवृत्तान्तभन्दा पृथक छ ।


मध्यमवर्गीय परिवारको मूलपात्र (हरिवंश) सीमित बौद्धिक क्षमताका आधारमा विद्यालयमा आफ्नो हैसियत जोगाइराख्न, बाबुआमालाई खुशी राख्न र भविष्यमा सफल मानिस बन्न संघर्षरत छ । ऊ आफूले पढेर केही गर्न नसक्ने कुरामा सचेत छ त्यसैले कलाकार बन्न चाहान्छ । उसका रुचि र क्षमता नियमित पढाइलेखाइको परिधीभन्दा बाहिर छन् जसलाई उसका साथीहरूले राम्रोसँग बुझे पनि बा-आमा र स्कूलका गुरुहरूले बुझ्दैनन् । उसका बाबुआमासँग उबाट ठूला अपेक्षा छन् जसको उसका विशिष्ट रुचि र क्षमतासँग कुनै तालमेल छैन । उसका बा-आमा चाहान्छन् ऊ डाक्टर बनोस् र पैसा कमाओस् । उसको रुचि र अभिवावकको अपेक्षाका बीचको यही अन्तर्विरोधमा उसको सम्पूर्ण जीवन साँघुरिएको छ –लगभग कथाको अन्त्यसम्म । परिणामस्वरूप ऊ समग्र जीवनमा सम्झौतामात्र गर्न विवश छ । चाहेर पनि आफ्नो रहर पछ्याउन सक्दैन ।

समग्रमा करोडौँ कस्तुरी समाजको अपेक्षा र आफ्नो विशिष्ट क्षमताका बीचको बेमेलमा पिल्सिएर आत्मसम्मान गुमाएको एक व्यक्तिको कथा हो –मैले बुझेसम्म । उपन्यासको अन्त्यमा मूलपात्र हरिको आत्मसम्मान त फर्किन्छ तर त्यसबेलासम्म उसको सारा जीवन उर्जाविहीन र सम्भावनाविहीन भइसकेको हुन्छ ।

उपन्यासमा समकालिन ग्रामीण परिवेषको राम्रो चित्रण छ । यसमा लेखक निकै पोख्त देखिन्छन् । ग्रामीण जीवनशैली, गाउँघरमा पाइने चिजबिज, माटोको सुबास, गाईबस्तु वा मनोविज्ञानको राम्रो तस्वीर उतार्न सक्छन् उनि । पात्रहरूको वर्णनमा पनि लेखकको क्षमता झल्किन्छ । विद्यालयका शिक्षक र गाउँलेको चरित्रचित्रण उपन्यासमा रोचक ढङ्गले भएको छ ।

सेतो धरतीमा राम्रोसँग गर्न नसकेको एउटा काम लेखकले यो उपन्यासमा गरेका छन् -उपन्यासको सन्देशलाई सफा बनाएर । करोडौँ कस्तूरीमा लेखकले भन्न चाहेको कुरा पाठकले सजिलै बुझ्न सक्छन् । त्यो हो हरेक व्यक्तिका मौलिक क्षमता र गुण हुन्छन् जसलाई औपचारिक शिक्षाका मानकहरूले नाप्न सक्दैनन् । जसले आफ्ना मौलिक क्षमतालाई चिन्दैन वा त्यसलाई पछ्याउन आँट गर्दैन ऊ जीवनमा सफल हुनसक्दैन । यो नैतिक शिक्षाको प्रवाह गर्नमा करोडौँ कस्तूरी सफल छ ।

"यो उपन्यास पढेर के शिक्षा पाइस् त ?" भनेर मलाई कसैले सोध्यो भने म आँखा चिम्लेर भन्न सक्छु –"आफूलाई रहर लागेको काम गर, त्यसमा कसैसँग सम्झौता नगर ।"

तर, दुखसाथ भन्नुपर्दा पात्र तथा परिवेषको सजीव वर्णन् र एउटा गम्भीर सन्देशबाहेक यो उपन्यासमा उल्लेख्य अरू केही पाइनँ मैले । उपन्याससँगका मेरा असन्तुष्टिहरू तल चर्चा गरेको छु ।

उपन्यासको ठूलो भाग (लगभग दुई तिहाइ) एउटा किशोरले विद्यालय र घरमा भोग्ने मानसिक तनावको वरिपरि रुमल्लिएको छ । एकपछि अर्को परिच्छेदमा स्कूलमा भएका ठूलासाना घटनाका वर्णन् छन् जसमा हरिले कुनै नयाँ 'उटपटाङ्ग' काम गर्छ । घटना र पात्रको पृथकताबाहेक उही प्रकृतिका पट्यारलाग्दा परिच्छेदमा नयाँपन पाइन्न, न त तिनले पात्रको प्रवृत्ति र उसको परिवेषका बारेमा केही नयाँ कुरा भनेका छन् । उपन्यास पढ्दा मलाई लाग्यो लेखकले उपन्यासको ठूलो हिस्सा केवल लेख्नका लागि लेखिरहेका छन् ।

अमर न्यौपानेको लेखाइमा मलाई घत नपर्ने पात्रमाथिको लेखकीय 'अतिनियन्त्रण' हो । सेतो धरतीकै शैलीमा यो उपन्यासमा पनि लेखक पात्रमाथि हावी भएको छ । प्राय सबै पात्र अति गहकिलो लवजमा चुस्त लक्षणा र व्यञ्जनासहित फूलबुट्टाजडित औपचारिक भाषामात्र बोल्छन् –जसमा लेखकको पकड छ ।

उदाहरणका लागि ८ कक्षामा पढ्ने किशोरले हिलोको धापमा डुबेर मुश्किलले बाहिर निस्केपछि भन्छ: "लाग्यो, आनन्द भनेको सुख पाउनु होइन, दु:खबाट मुक्ति पाउनु हो ।" अर्को प्रसङ्गमा वर्षौँपछि एक्कासी बसमा भेट भएकी हरिकी पूरानी साथी रूपाले भेट्नासाथ भन्छिन् – "यो सब समयको खेल हो हरि, हामी सब समयले खेल्ने फुटबल हौँ ।"

यसप्रकारका अभिव्यक्ति र वर्णन् सहज र स्वभाविक लाग्दैनन् । पाइलैपिच्छे आउने यस्ता अभिव्यक्तिका कारणकरोडौँ कस्तूरी स्कूले विद्यार्थीले लेख्ने सामान्यस्तरको कथालेखन जस्तो लाग्छ । यसका अतिरिक्त त्यो निश्चित समय र परिवेषका पात्रले क्यारिकेचर, सपथ, हर्कत आदि शब्द फटाफट प्रयोग गरेको, लुगामा 'पर्फ्युम' छर्केको, हाकिमसँगको रिसले रक्सी पिएको आदि प्रसङ्ग सुहाउँदो लाग्दैन । सुँगुर, गैँडा, आदि जनावरको आवाज निकालेर गाउँलेलाई तर्साएको प्रसङ्गमा पनि लेखकले स्वभाविकतामा ध्यान पुर्याउन नसकेको देखिन्छ ।

उपन्यासको अर्को कमजोर पक्ष यसको कथाको संरचना हो ।

करोडौँ कस्तूरीमा मूल पात्रका सयौँ उट्पटाङ्ग अटाएका छन् । उसले पाएका सयौँ गाली र पिटाइ अटाएका छन् । जीवन-जगतका विषयमा लम्बेतान गन्थने परिभाषा अटाएका छन् । तर, दैनिक जीवनका सामान्य र सहज घटना अटाएका छैनन् । उदाहरणका लागि उपन्यासमा हरिका दिदी र बहिनीको विवाह भएको छ तर पाठकले यसको सुइँको पछिमात्र पाउँछन् । आफूले हेरेको भन्दा अर्कै केटीसँग हरिको विवाह भएको भनिएको छ । तर,यथेष्ट वा स्वभाविक वर्णनबिना कथाको सिलसिला मिलाउन जबरदस्ती छुस्स चुहाइएको यो प्रसङ्गले दाँतमा ढुङ्गा लागेजस्तो हुन्छ ।

त्यसैगरि, पूराण वाचन गर्न गाउँमा आएको आफ्नो पूरानो साथी रामहरि (वासुदेव)का कारण हरिले अन्तमा आफ्नो गुमेको आत्मसम्मान फिर्ता पायो भनिएको छ । तर, यो प्रसङ्गलाई लेखकले यति हतारमा टुङ्ग्याएका छन् कि समग्र प्रसङ्ग बिल्कुल अवास्तविक र 'फिल्मी'लाग्छ ।

कमजोर कथाक्रम अनि घटना र संवादको अस्वभाविक प्रस्तुततिले गर्दा लेखकले जीवन र जगतप्रतिका आफ्ना लामालामा गन्थन पाठकलाई पढाउन मात्र पात्रको प्रयोग गरेजस्तो लाग्छ ।

करोडौँ कस्तुरीमा मलाई मन नपरेको अर्को पक्ष यसको वैरागी 'टोन' हो । यो उपन्यासमा झरी छ, बादल छ तर घाम छैन । आकल-झुकलको झुल्के घाम पनि छैन । यसका अधिकांश पात्र कि त नैराश्य र विरहको भूमरीमा छन् कि क्रुर, परपिडक र अमानवीय प्रवृत्तिका छन् ।

कथाकार, उपन्यासकारले पीडा र विरहको पाटोलाई मात्र जोड दिएर पाठकलाई दु:खको भूमरीमा ठेल्नखोज्ने प्रवृत्ति समकालिन साहित्यमा हावी हुँदै गएको छ । मलाई भने यो 'परपिडक' प्रवृत्ति कति पनि मन पर्दैन । सुख सामान्य मानिसको जीवनको एक स्वभाविक र अभिन्न अङ्ग हो । जस्तोसुकै दु:खी वा गरीब भनिएको मानिस पनि २४ घण्टा रोएर, उदास भएर बस्दैन । हरेक व्यक्तिको जीवनमा आनन्द र खुशीका सानातिना स्रोत हुन्छन् । आफ्नो स्वार्थका लागि लेखकले यसलाई देख्न नचाहालान्, तर पीडाको एकोहोरो वर्णनले आख्यानलाई जीवन्त बनाउँदैन ।

उपन्यास पढ्दा मलाई यस्तो लाग्यो त्यो गाउँमा हरिको परिवार र समग्र गाउँले २४ घण्टा र ३६५ दिन भविष्य बनाउनमा मात्र दत्तचित्त रहेछन् । वर्तमानमा बाँच्दा रहेनछन् । चाडपर्व,मेलापात, विवाह र भोजभतेरमा रम्दा रहेनछन् । गाउँदा रहेनछन्, नाच्दा रहेनछन् । हाँस्दा रहेनछन् ।

उपन्यासको मूलपात्र हरिले आफूलाई र अरूलाई खुशी पार्न केही उट्पट्याङ्ग काम त गर्छ तर यस्ता प्रत्येक घटना लेखकले उसलाई बाबुबाट वा शिक्षकबाट कुटाइ ख्वाउने उद्देश्यले गराइरहेको जस्तोमात्र लाग्छ ।

आख्यान वास्तविक घटना (real)को वर्णन अवश्य पनि होइन । तर, आख्यान पढ्दा पाठकले पात्र र घटनामा सम्भाव्यता (realism) को गन्ध पाएन भने त्यो आख्यान स्वादिलो हुँदैन । करोडौँ कस्तूरी पढ्दा यहाँका घटना र पात्रको प्रवृत्तिमा सम्भाव्यता भन्दा कृतिमता बढी पाइन्छ, जसले मेरो विचारमा, समग्र उपन्यासलाई एकदमै निरसिलो बनाएको छ ।

एक वाक्यमा भन्दा मलाई करोडौँ कस्तूरीले छुँदै छोएन । म यस उपन्यासलाई नेपालको समकालिन साहित्यका लागि कुनै गतिलो योगदान मान्न तयार छैन ।
उनले थपेका छन, "यो टिप्पणी लेख्नुको उद्देश्य लेखक र प्रकाशकलाई निरुत्साहित गर्नु होइन -न त उनिहरूलाई मेरो ब्लगका कमेन्ट पढिबस्ने फुर्सद नै होला । मैले माथि नै भनिसकेँ यो मेरो 'टाइमपास'को मेलो मात्र हो । करोडौँ कस्तूरीले राम्रो बजार पाइ नै सकेको छ र यसमा पाठकको चासो निरन्तर हुने निश्चित छ । मेरो कमेन्ट समकालिन साहित्यसँगको आफ्नो चासोलाई निरन्तरता दिने सानो प्रयास मात्र हो ।"

Comments

Popular posts from this blog

खैलौना - राजेन्द्र थापाको उपन्यास समीक्षा

नेपली मोडल स्मिता थापाको अन्तरबार्तामा "मलाई लोग्ने होइन लोग्ने मानिस चाहिन्छ" भन्ने अभिव्यक्ति पढे पछि पत्रकार र लेखक राजेन्द्र थापाले 'खैलौना' उपन्यास लेखेका हुन । यो उपन्यास मोडल स्मिता थापा को जिबनी मा नै आधारित बनाएर 'युवा बयस्क' बर्गलाइ भनेर लेखिएको राजेन्द्र थापा बताउछन् । गितकार तथा कबि राजेन्द्र थापा द्वारा लिखित उपन्यास 'खेलौना'ले स्मिता थापाको मोडल जीबनको उतारचडावलाइ सटिक ढङ्गले शब्दमा उतारेलो छ। यो पुस्तकको भूमिकामा जगदिश घिमिरेले यसलाई क्रान्तिकारि 'डकुमेन्टरी उपन्यास' भनेर नामाकरण गरेका छन। उनी लेख्छन्, "यो एक फरक धारको यौन बिषयक उपन्यास हो। बिश्वका सबै भाषामा यौन आख्यान लोकप्रिय छन। तिनको मूल लक्ष्य हल्का-फुल्का मनोरन्जन हो। तर यस उपन्यासको बिषय मनोरन्जन होइन, यस उपन्यासका बिषय हुन - नेपाली समाजमा यौन प्रतिको बदलिँदो दृष्टिकोण, मुल्य, मान्यता र अभ्यासमा भएका क्रान्तिकारि परिबर्तनहरु।" जगदिश घिमिरेले भनेको जस्तै 'खेलौना'ले नेपाली समाजको परम्परागत शैलीको यौन सोचाइलाई स्मिता पात्र र लेखक इन्द्र पात्र मार्फत पठ

मिस्टिका रिभ्यु

कुमार नगरकोटीको पहिलो उपन्यास हो "मिस्टिका"। यो उपन्यास अरु उपन्यास भन्दा फरक छ । एउटा केन्द्रिया कथा वरिपरि घुम्ने उपन्यास मन पराउने पाठकलाइ यो उपन्यास मन नपर्न पनि सक्छ तर नकगरकोटीका पुराना पाठकलाई भने यो अल्छि नलाग्ने उपन्यास हो । तेसैले होला कतिपय समीक्षकहरुले यसलाइ एकदमै जेलिएको र बुझ्नै नसक्ने पनि भनेका छन । नगरकोटीमा शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबी छ । उनको यो खुबीको प्रशंशकलाइ यिनै कुराको लागि "मिस्टिका" पढ्छन र रमाउछन । रु ५०० मूल्य राखिएको यस किताबको मूल्यको बारेमा पनि बिभिन्न टिकाटिप्प्णी गरिएका थिएअ । सुमन मञ्जरी ले "मिस्टिका"को बारेमा लेखेकि छिन: "मिस्टिका"मा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अन

Adultery (novel) by Paulo Coelho

It is the sixteenth major book of Paulo Coelho, titled 'Adultery' is written in the core theme of adultery. The book was written in Coelho's native language, Portuguese and was released on April 10, 2014. The English edition is the book was published on August 19, 2014.