Wednesday, July 29, 2015

नारायण ढकालको उपन्यास वृषभ वध को बारेमा टिप्पणी

नारायण ढकालको उपन्यास "वृषभ वध" बैशाख १२ मा आएको बिनासकारी भूकम्पका कारण विमोचन नै नगरिकन पुस्तकलाइ बजारमा बितरण शुरु गरिएको थियो । राजनीतिक उपन्यास लेख्ने  नारायण ढकालको यो उपन्यास "वृषभ वध" पनि राजनीतिक बिषयलाइ नै लिएर लेखिएको छ  । यो कथा करीब पचास वर्षअघि काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको हो । उपन्यासको केन्द्रमा एक किशोर, देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीय देखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ । राजनीतिक उपन्यास भए पनि "वृषभ वध" शैलिगत, संरचनागत हिसाबले पृथक छ ।  कथाकार, कवि अविनाश श्रेष्ठका अनुसार, ‘वृषभ वधमा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन् ।’ 
यसअघि नारायण ढकालका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । 

"वृषभ वध" को बारेमा संजिव पोखरेलको बिचार: 

पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने यहाँलाई लाग्छ भने यसभन्दा तल पढ्न आवश्यक छैन – माफ पाऊँ, मैले जति प्रयास गर्दा पनि यो उपन्यास पढ्दैजाँदा ६६ पेजभन्दा अगाडि पढ्न सकिनँ ।
नारायण ढकाल असल मानिस हुन् भन्ने सुनेको छु । उनि राम्रा लेखक हुन् भन्ने पनि अरूबाट सुनेको हो । तर, उनको यो उपन्यासमा मैले आफ्नो ध्यान टिकाइरहन सकिनँ । पूरा नपढेको यो उपन्यासमाथिको मेरो समिक्षा यसप्रकारको छ ।
उपन्यास सुरु हुन्छ काठमाडौँ नजिकैको कुनै काँठको ग्रामीण परिवेषको वर्णनबाट –जहाँ एक प्रधानपञ्च सत्तासँग नजिक रहेर शक्ति विस्तार गरिरहेछ र बाँकी गरिब, निमुखा गाउँलेहरू उसको बढ्दो शक्तिका अगाडि निरिह छन् । त्यो गाउँमा शक्तिशाली प्रधानपञ्च छ, दरबारसँग नजिक पहुँचवाला केही परिवार छन्, पुलिस-प्रशासन छ र बाँकी निरिह, गरीब, सोझा गाउँले छन् । प्रधानपञ्चले सत्ताको निकटताको उपयोग गर्दै गाउँलेमाथि दमन गर्न खोज्छ, गाउँलेहरू यसबाट प्रताडित छन् तर प्रतिकार गर्न सक्दैनन् ।
यसभन्दा अगाडि के छ मलाई थाहा छैन । बाँकी भाग पढ्ने योजना पनि छैन । किन ? यसको वर्णन तल गरेको छु ।
कथा पूरानो छ । मेरो विचारमा अत्यन्त बढी प्रयोग भएको । तानाशाही पञ्चायत व्यवस्था, सामन्ती प्रधानपञ्च र निमुखा गाउँलेको कथा लगभग नेपालमा दन्तेकथा जस्तै भइसकेको छ । कमसे कम दुई दर्जन यस्ता कथा विभिन्न genre मा मैले पढेँ होलाँ । त्यसमा नजाऊँ । नयनराज पाण्डेको "उलार" वा "लू" पनि नयाँ कथावस्तुमा रचिएका उपन्यास होइनन् । तर, ति पठनीय छन् ।
ढकालको "वृषभ वध" उच्चाटलाग्दो हुनुको कारण लेखकका कोरा राजनीतिक वर्णन् हुन् जसले सुरुदेखि नै मलाई वाक्क बनाए । उपन्यासमा प्रयोग शब्दावली, पात्रका अभिव्यक्ति र घटना वा स्थानको वर्णन कतै स्वभाविक र सहज लाग्दैनन् । गरीब र निमुखा गाउँलेले सुन्दै पट्यार लाग्ने त्यसबेलाका राजनीतिक 'जार्गन' फटाफट बोलेको पढ्दा उत्पात झर्को लाग्यो मलाई । लेखकका वर्णन अस्वभाविक रूपमा यति विस्तृत छन् कि पाठकलाई कल्पना गर्ने, दिमाग लडाउने कुनै ठाउँ छैन । कल्पनाशीलता देखाउन लेखकले तन्काएका वर्णनहरू कृतिम र अस्वाभाविक लागे मलाई –पहिलो पेजदेखि नै ।
लेखक र प्रकाशक दुबैप्रति क्षमा माग्दै म यो भन्न चाहान्छु कि मेरा लागि नारायण ढकालको "वृषभ वध" पढ्नु लगभग सजाय जस्तै भयो । यो स्वीकार्य नभएर बाँकी भाग पढ्ने लेठो गरिनँ ।
तर पनि "वृषभ वध" किनेकोमा मलाई पछुतो छैन । किताब किनेको हुनाले अरूलाई यतिचाहिँ भन्न सक्छु –किनेको हुँ, पढ्न पनि खोजेको हुँ, रस बसेन, पूरा गरिनँ । [नोट: मेरा टिप्पणीलाई आधार बनाएर पुस्तक किन्ने वा नकिन्ने निर्णय नगर्नुहोला । मसँग खारिएको साहित्यिक चेत छैन ।] (संजिव पोखरेलको ब्लग)

नयनराज पाण्डेको बिचारमा  वृषभ वध

लेखक नयनराज पाण्डे भन्छन्, ‘वृषभ वध सरल भाषा र प्रवाहमय शैलीमा बुनिएको रोचक कथानकसहितको तिख्खर राजनैतिक चेत बोकेको उपन्यास हो । २०१७ सालपछि प्रजातन्त्रको दमनसँगै उदय भएको पंचायती व्यवस्थाका वाहकहरुको अराजनीतिक चरित्र र त्यसका विरुद्ध उम्रँदै गएका प्रतिकारका स्वरहरुको जीवन्त अभिलेख पनि हो यो । आजभन्दा झण्डै साढे पाँच दशकअघिको समय र परिवेशलाई कथानकको विषय बनाए पनि यो उपन्यास कतै न कतै आजको क्षयग्रस्त राजनैतिक चिन्तन र चरित्रसित पनि जोडिन पुगेको छ । यही नै यो उपन्यासको सफलता हो ।’

कुमार नगरगोटी बिचारमा  वृषभ वध

कथाकार कुमार नगरगोटी  भन्छन्,  ‘निरङ्कुश पञ्चराजको आततायी प्रपञ्च एवं अश्लिल राजनीतिक रोमाञ्चलाई उपन्यासमा मिस्टर ढकालले सुरुचीपूर्ण शैलीमा चित्रण गरेका छन् ।’ उनी थप्छन्, ’जीवन्त पात्रहरुको मेटाफोरिकल आविष्करण, एक्स्ट्रा लार्ज न्यारेटिभस्, काँठ वरपरको ग्रे–राजनीतिक ल्याण्डस्केप प्लस काडमाडौंका प्राचिन गल्लीहरुको लार्जर–देन–लाइभ विम्बहरु यो उपन्यासका पूँजी हुन् । त्यस अर्थमा मिस्टर ढकाल पूँजीपति भएका छन् । उपन्यासको ओपन इन्डेडनेसको जुन द्धार खोलिएको छ, मलाई लाग्छ त्यही द्धारबाट पाठकले ढकाल ह्याङओभरको परकम्पनसितै आफ्नो अलग मानसिक यात्रा तय गर्नेछ । वृषभ वध अर्थात् काँठ भर्सेस काठमाडौंको एक कोलाजमय म्याजिकल आख्यान १ नेपाली आख्यान साहित्यको एक म्याजिकल उपलब्धी ।’ 

No comments:

Post a Comment