Tuesday, September 1, 2020

मिस्टिका रिभ्यु

कुमार नगरकोटीको पहिलो उपन्यास हो "मिस्टिका"। यो उपन्यास अरु उपन्यास भन्दा फरक छ । एउटा केन्द्रिया कथा वरिपरि घुम्ने उपन्यास मन पराउने पाठकलाइ यो उपन्यास मन नपर्न पनि सक्छ तर नकगरकोटीका पुराना पाठकलाई भने यो अल्छि नलाग्ने उपन्यास हो । तेसैले होला कतिपय समीक्षकहरुले यसलाइ एकदमै जेलिएको र बुझ्नै नसक्ने पनि भनेका छन ।

नगरकोटीमा शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबी छ । उनको यो खुबीको प्रशंशकलाइ यिनै कुराको लागि "मिस्टिका" पढ्छन र रमाउछन । रु ५०० मूल्य राखिएको यस किताबको मूल्यको बारेमा पनि बिभिन्न टिकाटिप्प्णी गरिएका थिएअ ।


सुमन मञ्जरी ले "मिस्टिका"को बारेमा लेखेकि छिन:

"मिस्टिका"मा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अनुरूपको वातावरणले उपन्यस भन्ने बितिक्कै यौटै मुल कथानकमा अघि बढ्न बानी परेका पाठकलाई अल्मल्याई दिन सक्छ । तर यो अलमल नगरकोटीलाई पहिलो पटक पढ्दै गरेका पाठकको मात्र हुनेछ भन्ने मेरो ठम्याई । किनकी नगरकोटीका यस अघिका "मोक्षान्तः काठमाडौँ फिभर", "फोसिल" र "अक्षरगञ्ज"का स्वाद चाखिसकेका पाठकले भने मिस्टिकाको जटिलतालाई पनि सहजै लिन सक्छन!"
उपन्यासका पात्रहरू अतिमानविय स्वभावका छन् । हामीले पुराण र लोककथामा सुन्दै आए जस्तै नगरकोटीका पात्रहरू पनि आफुलाई मन लागेका ठाउँमा तुरुन्तै टुप्लुकिन आईपुग्छन त उतिखेरै अन्तर्ध्यान पनि भइहाल्छन् । यी पात्रहरू सबै हेर्दा स्वतन्त्र र मनमौजी जस्ता लाग्छन् तर यी सबै एक आपसमा जेलिएका छन् । उदाहरणका लागि उपन्यासकी शिर्ष पात्र मिस्टिका उपन्यासको २०० पेजमा मात्र देखा पर्छे तर अप्रत्यक्ष रुपमा ऊ पेज ३७ मै रहस्यमयी पात्रको रुपमा देखा परिसकेकी हुन्छे । उक्त रहस्यमयी पात्र र मिस्टिका एकै हो भनेर ठम्याउँन कठिन त छैन तर सहज पनि छैन ।
उपन्यासको कथानकको कम्रभङ्ग गर्नू/हुनु नगरकोटीय लेखनीको शैली जस्तो लाग्छ । भिन्न भिन्न शिर्षकमा रहेका कथानकलाई बेग्ला बेग्लै या अगाडी पछाडी पारेर पढे पनि त्यसले उपन्यासमा खास अन्तर पार्दैन् । जस्तैः उपन्यासको दोस्रो मूल शिर्षक “ब्लु बोइज्” संस्मणात्मक लेखाइलाई पहिले पढे पनि या अन्त्यमा पढे वा पढ्दै नपढे पनि उपन्यसको कथावस्तुलाई त्यसले खास असर गर्दैन ।

उपन्यास भरी नगरकोटीका उड्न्ते कल्पना, डुलन्ते कल्पना र स्वप्न कल्पनाहरू भरिएको छ । जसलाई जादूमय (म्याजिकल राइटिङ) लेखाइ भन्न सकिन्छ । उपन्यासमा जीवनका अँध्यारा पाटाहरू जस्तैः मृत्यु, चिहान, हत्या, आत्महत्या, भग्नावशेष जस्ता पक्षलाई जोड दिईएको छ । यसका साथै यौन, प्रजनन, किशोर मनका यौन प्रतिको उत्सुकता र खुल्दुलीहरूलाई पनि उपन्यासले समेटेको छ ।
उपन्यासमा एउटा कथानक सुरू हुन्छ त्यो बीचैमा छुट्छ र फेरी अरु अरू कथाकनहरु सुरू हुँदै जान्छ । बीचमा कतै पुगेर फेरी पहिले छोडिएको कथानकको कम्र नितान्त बेग्लै परिवेश र पात्रसँग जोडिएर नयाँ रुपमा देखापर्छ । उपन्यासमा कुनै प्रसङ्ग एक ठाउँमा छुस्स आउँछ फेरी कयौं पाना पल्टाईसक्दा उक्त प्रसङ्गको अत्तोपत्तो देखिदैँन । पछि अन्य कथानकसँगै मिसिएर पहिलेको जिज्ञासाको अन्य हुने गरी कथानकको रहस्य खुल्छ । उदाहरणका लागि मिस्टिकाले आफूले असाध्यै मन पराएको उपन्यासको उपन्यासकारले दोस्रो उपन्यासको तयारी गर्न लागेको सुइँको पाएपछि दिनरात उसको पिछा गरेर हत्या गर्ने योजना बनाउँछे ।

उसले हत्याका विभिन्न कायदाहरूको लेखाजोखा गरेर अन्त्यमा मोटरले हानेर मार्ने निष्कर्ष निकाल्छे र लेखाको पिछा गर्छे । डिभिडी पसल, बुकस्टोर, आर्टग्यालरीमा लेखक पछ्याउँदै हिँडेकी मिस्टिकाको एउटा क्याफे बाहिर लेखकको प्रतिक्षा गर्दागर्दै जादूमयी रुपमा केही वर्ष बित्छन् । लेखक केही वर्षपछि क्याफे बाहिर देखापर्छ र मिस्टिकाको मोटरमा बसेर उनीहरु कतै अज्ञाततिर लाग्छन् (पृष्ठ ८३) । मिस्टिकाले मार्न चाहेको प्रिय उपन्यासको उपन्यासकार आफ्नै मोटरमा आएर बसेपछि अब के गर्ली त भन्ने पाठकीय जिज्ञासालाई जिल्याउँदै उपन्यासको कथानक अर्को कतातिर मोडिन्छ । र, एकै पटक पेज नम्बर २८९ मा पुगेर अर्कै शिर्षक र उप शिर्षकमा जोडिन आईपुग्छ । जहाँ उपन्यासकार आफ्नो दोस्रो उपन्यासको पाण्डुलिपी र मिस्टिकाको साथमा चिहानघारीमा फेला पर्छ । उपन्यासकार मिस्टिका सामु दुइवटा विकल्पहरू पेश गर्छ । जस्तो की ‘कि चिहानमाथि सेक्स या हत्या ?’ मिस्टिका कुनै निर्णयमा नपुग्दै उपन्यास फेरी अर्कै तिर भाग्छ । मिस्टिकाले उपन्यासकारले दिएको दुइ विकल्प मध्ये कुन छानी भनेर पाठक जान्न व्यकुल नै रहन्छ । तर पाठकले त्यो रहस्य अकल्पनीय रुपमा पेज ३६८ मा खुलेको भेट्छ जब असनमा पार्सल कुरिरहेकी सिमसाराको हातमा पार्सलका रुपमा लेखकको टाउको आईपुग्छ । यस्तै रहस्यहरू बीचबीचमा खोल्दै र रहस्यको सिर्जना गर्दै मिस्टिका अघि बढेको छ ।

यसका साथै उपन्यासमा स्वैरकल्पनिक वा यथार्थमा घट्न नसक्ने घटनाहरूको श्रृखला नै पाइन्छ । जस्तैः बकाइनाको फल खाएर महिलामा रुपान्तरित भई गर्भवति भएको कारपेन्टरले छोरा ‘कार पेन्टर’लाई जन्म दिएर पुनः त्यही बनाइनाको फल खाएर पहिलेकै पुरुष स्वरुपमा आउँनु, छोरा कार पेन्टरको जन्मलाई लिएर गाउँलेहरूले चलाएका खासखुसहरू, मिस्टर नगरकोटीलाई स्वयं भविष्यको बुढो नगरकोटीले बारम्बार फोन गर्नू र अन्त्यमा भेट्नु, नगरकोटी अनुप बरालको दिमागमा प्रबेश गरी यावत छलफन गर्नु, मिस्टिका मन परेको लेखकको हत्या गर्न हिँड्नु जस्ता रमाईला, रोचक र घोचक काल्पनिकताले मिस्टिका भरिएको छ ।

यसमा हिन्दी अङ्ग्रेजीका शब्दहरू र लामा अनुच्छेद हरु नै प्रयोग गरिएका छन् ।

No comments:

Post a Comment