भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन। मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ ।
आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचेर उठाएँ 'जुकरबर्गको क्याफे'लाई एक हातमा र बसे अर्को हातमा आफैँले बनाएको कालो कफी साथी राखेर । ओल्टाई पल्टाई हेरेँ मुसुक्क मुस्कुरायो 'जुकरबर्गको क्याफे' मेरो माया पाएर । किताब पल्टाएँ कथा-क्रममा कथाहरू गने २४ वटा रहेछन् ।
मूलतः प्रेमलाई विषयवस्तु बनाई लेखिएका छोटा कथाहरू जुकरबर्गको क्याफेमा रहेका छन् । साप्ताहिक लगायतका पत्रपत्रिकामा पहिले अश्विनी कोइरालाका लेखाइ नपढेका पाठक पनि पहिलो कथा 'ईला मिसको पत्र' पढिसक्दा नसक्दै पाठक उनको लेखाइ प्रति आकर्षित भइसक्छ । तर, कथाक्रम अगाडि बढ्दै जाँदा पछिल्लो क्रमका कथाहरू पहिलो कथाको उच्च प्रभाव टिकाइराख्न भने कठिन नै छ । कुनै कुनै कथालाई कथा भन्दा अनुभव/अनुभूति वा स्मरणात्मक लेख भन्दा राम्रा लाग्छन् तर पढ्दा बोर भने ती पनि छैनन। 'सन्नी लियोन', 'असल खराब', 'म्याक्सीवाली' जस्ता केही कथाहरू वास्तविक जीवन भन्दा बढी फ्यान्ट्यासीका निकट देखिन्छन् । 'युवकको प्रेममा' भन्ने छोटो कथा सुरुवातमा निकै हास्यात्मक तरिकाले थालिएको भए पनि यसको अन्त्य भने गम्भीर किसिमबाट भएको छ ।
हरेक व्यक्तिसँग कम्तीमा पनि एउटा (कसैसगँ दुइ/तिनवटा पनि होलान्) स्मार्टफोन रहेको आजको नेपाली समाजका युवा पुस्ता र इन्टरनेटको सहजताका कारण सामाजिक सन्जालबाटै कतिपय प्रेम सम्बन्धहरूको स्थापना भएका यावत उदाहरणहरू हाम्रा सामू आइरहेकै छन् । कथाकार अश्विनीले पनि ती विषयवस्तुलाई पक्कै छुटाएका छैनन् । सामाजिक सन्जाल हुँदै स्थापित हुने सम्बन्धहरू, पुराना सम्बन्धहरूलको नवीकरण र हालखबर सोधनीको माध्यमका रूपमा प्रयोग हुने फेसबुकको उल्लेख गरेका छन् । किताबको नाम नै फेसबुकका निर्माता मार्क जुकरबर्गको नामबाट राखेकैबाट पाठकले फेसबुकका किस्साको आशा कथा पढ्नु भन्दा पहिलै गर्न सक्छन् । युवा मनोविज्ञान, प्रेम, विवाह, यौनजस्ता विषयवस्तुलाई मूल रुपमा स्वीकार गरिएकैले पनि यस कथा सङ्ग्रहले युवा पिँढीका पाठकको अपेक्षा राख्छ । प्रेमका मामिलामा पनि अझ महिला पात्रहरूको उपस्थिती ज्यादा छ । समग्रमा भन्दा प्रेमको केन्द्रियतामा रही जटिल युवा मनिविज्ञान, प्रेम प्राप्तीको सुन्दर संसार र प्रेम त्याग(बिछोड) पछिको निस्सार मानसिकतालाई कथाले केलाउन सफल भएको छ । भूकम्पका धक्काहरूको ह्याङओभरबाट केही हदसम्म राहत दिन किताब सक्षम छ ।
पुनश्चः यसलाई किताब पढेपछि मेरो मनमा उठेका व्यक्तिगत भावहरू/अनुभवका रूपमा मात्र बुझ्नु जरूरी छ । :)
This comment has been removed by a blog administrator.
ReplyDeletevery nice article Check this out Nepali Movies
ReplyDelete