Saturday, August 15, 2015

सञ्जीवलाई करोडौँ कस्तूरी ले छुँदै छोएन रे


सञ्जीव पोखरेलले "करोडौँ कस्तूरी"को बारेमा आफ्नो ब्ल्गमा लेखेका कुरालाइ छोटकरीमा यहाँ उतारिएको छ:

सञ्जीवले दुई वर्षअघि अमर न्यौपानेको "सेतो धरती" पढेका रहेछन् जसमा एक विधवा नारीको जीवनलाई स्थीर, उदास र मार्मिक ढङ्गमा वर्णन् गरिएको थियो । बहुतै अनुशासित प्रस्तुति रहेको सो उपन्यास्मा बाट उनल अमर न्यौपानेको लेखाइमा ठोस दिशा र दृष्टिकोण पाउन सकेका रहेनछन् ।

उनले अमर न्यौपानेको लेखाइ भन्दा पनि मदन पुरस्कार विजेता भएको ले "करोडौँ कस्तूरी" पढ्ने रहर गरेका रहेछन ।

"करोडौँ कस्तूरी" पढेर उनले 'छायाँ कथा' भनेको के हो भन्ने थाहा पए । आत्मकथाको शैलीमा लेखिएको यो उपन्यास र कलाकार हरिवंश आचार्यको जीवनीमा कुनै हिसाबमा आधारित आख्यान रहेछ - उनलाई 'पात्र-बिम्ब' बनाएर लेखिएको । उपन्यासको ढाडमा छापिएको सन्देशबाहेक अमरको उपन्यासलाई हरिवंशले कसरि लिए त्यो उनै जानुन् । भरखरै उनको आत्मकथा 'चिना हराएको मान्छे' पढेको भएर पनि होला मलाई भने उपन्यासको विषयवस्तु छनौट नविन लागेन -भलै करोडौँ कस्तूरीको कथा हरिवंशको आत्मवृत्तान्तभन्दा पृथक छ ।


मध्यमवर्गीय परिवारको मूलपात्र (हरिवंश) सीमित बौद्धिक क्षमताका आधारमा विद्यालयमा आफ्नो हैसियत जोगाइराख्न, बाबुआमालाई खुशी राख्न र भविष्यमा सफल मानिस बन्न संघर्षरत छ । ऊ आफूले पढेर केही गर्न नसक्ने कुरामा सचेत छ त्यसैले कलाकार बन्न चाहान्छ । उसका रुचि र क्षमता नियमित पढाइलेखाइको परिधीभन्दा बाहिर छन् जसलाई उसका साथीहरूले राम्रोसँग बुझे पनि बा-आमा र स्कूलका गुरुहरूले बुझ्दैनन् । उसका बाबुआमासँग उबाट ठूला अपेक्षा छन् जसको उसका विशिष्ट रुचि र क्षमतासँग कुनै तालमेल छैन । उसका बा-आमा चाहान्छन् ऊ डाक्टर बनोस् र पैसा कमाओस् । उसको रुचि र अभिवावकको अपेक्षाका बीचको यही अन्तर्विरोधमा उसको सम्पूर्ण जीवन साँघुरिएको छ –लगभग कथाको अन्त्यसम्म । परिणामस्वरूप ऊ समग्र जीवनमा सम्झौतामात्र गर्न विवश छ । चाहेर पनि आफ्नो रहर पछ्याउन सक्दैन ।

समग्रमा करोडौँ कस्तुरी समाजको अपेक्षा र आफ्नो विशिष्ट क्षमताका बीचको बेमेलमा पिल्सिएर आत्मसम्मान गुमाएको एक व्यक्तिको कथा हो –मैले बुझेसम्म । उपन्यासको अन्त्यमा मूलपात्र हरिको आत्मसम्मान त फर्किन्छ तर त्यसबेलासम्म उसको सारा जीवन उर्जाविहीन र सम्भावनाविहीन भइसकेको हुन्छ ।

उपन्यासमा समकालिन ग्रामीण परिवेषको राम्रो चित्रण छ । यसमा लेखक निकै पोख्त देखिन्छन् । ग्रामीण जीवनशैली, गाउँघरमा पाइने चिजबिज, माटोको सुबास, गाईबस्तु वा मनोविज्ञानको राम्रो तस्वीर उतार्न सक्छन् उनि । पात्रहरूको वर्णनमा पनि लेखकको क्षमता झल्किन्छ । विद्यालयका शिक्षक र गाउँलेको चरित्रचित्रण उपन्यासमा रोचक ढङ्गले भएको छ ।

सेतो धरतीमा राम्रोसँग गर्न नसकेको एउटा काम लेखकले यो उपन्यासमा गरेका छन् -उपन्यासको सन्देशलाई सफा बनाएर । करोडौँ कस्तूरीमा लेखकले भन्न चाहेको कुरा पाठकले सजिलै बुझ्न सक्छन् । त्यो हो हरेक व्यक्तिका मौलिक क्षमता र गुण हुन्छन् जसलाई औपचारिक शिक्षाका मानकहरूले नाप्न सक्दैनन् । जसले आफ्ना मौलिक क्षमतालाई चिन्दैन वा त्यसलाई पछ्याउन आँट गर्दैन ऊ जीवनमा सफल हुनसक्दैन । यो नैतिक शिक्षाको प्रवाह गर्नमा करोडौँ कस्तूरी सफल छ ।

"यो उपन्यास पढेर के शिक्षा पाइस् त ?" भनेर मलाई कसैले सोध्यो भने म आँखा चिम्लेर भन्न सक्छु –"आफूलाई रहर लागेको काम गर, त्यसमा कसैसँग सम्झौता नगर ।"

तर, दुखसाथ भन्नुपर्दा पात्र तथा परिवेषको सजीव वर्णन् र एउटा गम्भीर सन्देशबाहेक यो उपन्यासमा उल्लेख्य अरू केही पाइनँ मैले । उपन्याससँगका मेरा असन्तुष्टिहरू तल चर्चा गरेको छु ।

उपन्यासको ठूलो भाग (लगभग दुई तिहाइ) एउटा किशोरले विद्यालय र घरमा भोग्ने मानसिक तनावको वरिपरि रुमल्लिएको छ । एकपछि अर्को परिच्छेदमा स्कूलमा भएका ठूलासाना घटनाका वर्णन् छन् जसमा हरिले कुनै नयाँ 'उटपटाङ्ग' काम गर्छ । घटना र पात्रको पृथकताबाहेक उही प्रकृतिका पट्यारलाग्दा परिच्छेदमा नयाँपन पाइन्न, न त तिनले पात्रको प्रवृत्ति र उसको परिवेषका बारेमा केही नयाँ कुरा भनेका छन् । उपन्यास पढ्दा मलाई लाग्यो लेखकले उपन्यासको ठूलो हिस्सा केवल लेख्नका लागि लेखिरहेका छन् ।

अमर न्यौपानेको लेखाइमा मलाई घत नपर्ने पात्रमाथिको लेखकीय 'अतिनियन्त्रण' हो । सेतो धरतीकै शैलीमा यो उपन्यासमा पनि लेखक पात्रमाथि हावी भएको छ । प्राय सबै पात्र अति गहकिलो लवजमा चुस्त लक्षणा र व्यञ्जनासहित फूलबुट्टाजडित औपचारिक भाषामात्र बोल्छन् –जसमा लेखकको पकड छ ।

उदाहरणका लागि ८ कक्षामा पढ्ने किशोरले हिलोको धापमा डुबेर मुश्किलले बाहिर निस्केपछि भन्छ: "लाग्यो, आनन्द भनेको सुख पाउनु होइन, दु:खबाट मुक्ति पाउनु हो ।" अर्को प्रसङ्गमा वर्षौँपछि एक्कासी बसमा भेट भएकी हरिकी पूरानी साथी रूपाले भेट्नासाथ भन्छिन् – "यो सब समयको खेल हो हरि, हामी सब समयले खेल्ने फुटबल हौँ ।"

यसप्रकारका अभिव्यक्ति र वर्णन् सहज र स्वभाविक लाग्दैनन् । पाइलैपिच्छे आउने यस्ता अभिव्यक्तिका कारणकरोडौँ कस्तूरी स्कूले विद्यार्थीले लेख्ने सामान्यस्तरको कथालेखन जस्तो लाग्छ । यसका अतिरिक्त त्यो निश्चित समय र परिवेषका पात्रले क्यारिकेचर, सपथ, हर्कत आदि शब्द फटाफट प्रयोग गरेको, लुगामा 'पर्फ्युम' छर्केको, हाकिमसँगको रिसले रक्सी पिएको आदि प्रसङ्ग सुहाउँदो लाग्दैन । सुँगुर, गैँडा, आदि जनावरको आवाज निकालेर गाउँलेलाई तर्साएको प्रसङ्गमा पनि लेखकले स्वभाविकतामा ध्यान पुर्याउन नसकेको देखिन्छ ।

उपन्यासको अर्को कमजोर पक्ष यसको कथाको संरचना हो ।

करोडौँ कस्तूरीमा मूल पात्रका सयौँ उट्पटाङ्ग अटाएका छन् । उसले पाएका सयौँ गाली र पिटाइ अटाएका छन् । जीवन-जगतका विषयमा लम्बेतान गन्थने परिभाषा अटाएका छन् । तर, दैनिक जीवनका सामान्य र सहज घटना अटाएका छैनन् । उदाहरणका लागि उपन्यासमा हरिका दिदी र बहिनीको विवाह भएको छ तर पाठकले यसको सुइँको पछिमात्र पाउँछन् । आफूले हेरेको भन्दा अर्कै केटीसँग हरिको विवाह भएको भनिएको छ । तर,यथेष्ट वा स्वभाविक वर्णनबिना कथाको सिलसिला मिलाउन जबरदस्ती छुस्स चुहाइएको यो प्रसङ्गले दाँतमा ढुङ्गा लागेजस्तो हुन्छ ।

त्यसैगरि, पूराण वाचन गर्न गाउँमा आएको आफ्नो पूरानो साथी रामहरि (वासुदेव)का कारण हरिले अन्तमा आफ्नो गुमेको आत्मसम्मान फिर्ता पायो भनिएको छ । तर, यो प्रसङ्गलाई लेखकले यति हतारमा टुङ्ग्याएका छन् कि समग्र प्रसङ्ग बिल्कुल अवास्तविक र 'फिल्मी'लाग्छ ।

कमजोर कथाक्रम अनि घटना र संवादको अस्वभाविक प्रस्तुततिले गर्दा लेखकले जीवन र जगतप्रतिका आफ्ना लामालामा गन्थन पाठकलाई पढाउन मात्र पात्रको प्रयोग गरेजस्तो लाग्छ ।

करोडौँ कस्तुरीमा मलाई मन नपरेको अर्को पक्ष यसको वैरागी 'टोन' हो । यो उपन्यासमा झरी छ, बादल छ तर घाम छैन । आकल-झुकलको झुल्के घाम पनि छैन । यसका अधिकांश पात्र कि त नैराश्य र विरहको भूमरीमा छन् कि क्रुर, परपिडक र अमानवीय प्रवृत्तिका छन् ।

कथाकार, उपन्यासकारले पीडा र विरहको पाटोलाई मात्र जोड दिएर पाठकलाई दु:खको भूमरीमा ठेल्नखोज्ने प्रवृत्ति समकालिन साहित्यमा हावी हुँदै गएको छ । मलाई भने यो 'परपिडक' प्रवृत्ति कति पनि मन पर्दैन । सुख सामान्य मानिसको जीवनको एक स्वभाविक र अभिन्न अङ्ग हो । जस्तोसुकै दु:खी वा गरीब भनिएको मानिस पनि २४ घण्टा रोएर, उदास भएर बस्दैन । हरेक व्यक्तिको जीवनमा आनन्द र खुशीका सानातिना स्रोत हुन्छन् । आफ्नो स्वार्थका लागि लेखकले यसलाई देख्न नचाहालान्, तर पीडाको एकोहोरो वर्णनले आख्यानलाई जीवन्त बनाउँदैन ।

उपन्यास पढ्दा मलाई यस्तो लाग्यो त्यो गाउँमा हरिको परिवार र समग्र गाउँले २४ घण्टा र ३६५ दिन भविष्य बनाउनमा मात्र दत्तचित्त रहेछन् । वर्तमानमा बाँच्दा रहेनछन् । चाडपर्व,मेलापात, विवाह र भोजभतेरमा रम्दा रहेनछन् । गाउँदा रहेनछन्, नाच्दा रहेनछन् । हाँस्दा रहेनछन् ।

उपन्यासको मूलपात्र हरिले आफूलाई र अरूलाई खुशी पार्न केही उट्पट्याङ्ग काम त गर्छ तर यस्ता प्रत्येक घटना लेखकले उसलाई बाबुबाट वा शिक्षकबाट कुटाइ ख्वाउने उद्देश्यले गराइरहेको जस्तोमात्र लाग्छ ।

आख्यान वास्तविक घटना (real)को वर्णन अवश्य पनि होइन । तर, आख्यान पढ्दा पाठकले पात्र र घटनामा सम्भाव्यता (realism) को गन्ध पाएन भने त्यो आख्यान स्वादिलो हुँदैन । करोडौँ कस्तूरी पढ्दा यहाँका घटना र पात्रको प्रवृत्तिमा सम्भाव्यता भन्दा कृतिमता बढी पाइन्छ, जसले मेरो विचारमा, समग्र उपन्यासलाई एकदमै निरसिलो बनाएको छ ।

एक वाक्यमा भन्दा मलाई करोडौँ कस्तूरीले छुँदै छोएन । म यस उपन्यासलाई नेपालको समकालिन साहित्यका लागि कुनै गतिलो योगदान मान्न तयार छैन ।

उनले थपेका छन, "यो टिप्पणी लेख्नुको उद्देश्य लेखक र प्रकाशकलाई निरुत्साहित गर्नु होइन -न त उनिहरूलाई मेरो ब्लगका कमेन्ट पढिबस्ने फुर्सद नै होला । मैले माथि नै भनिसकेँ यो मेरो 'टाइमपास'को मेलो मात्र हो । करोडौँ कस्तूरीले राम्रो बजार पाइ नै सकेको छ र यसमा पाठकको चासो निरन्तर हुने निश्चित छ । मेरो कमेन्ट समकालिन साहित्यसँगको आफ्नो चासोलाई निरन्तरता दिने सानो प्रयास मात्र हो ।"