Wednesday, July 29, 2015

नारायण ढकालको उपन्यास वृषभ वध को बारेमा टिप्पणी

नारायण ढकालको उपन्यास "वृषभ वध" बैशाख १२ मा आएको बिनासकारी भूकम्पका कारण विमोचन नै नगरिकन पुस्तकलाइ बजारमा बितरण शुरु गरिएको थियो । राजनीतिक उपन्यास लेख्ने  नारायण ढकालको यो उपन्यास "वृषभ वध" पनि राजनीतिक बिषयलाइ नै लिएर लेखिएको छ  । यो कथा करीब पचास वर्षअघि काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको हो । उपन्यासको केन्द्रमा एक किशोर, देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीय देखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ । राजनीतिक उपन्यास भए पनि "वृषभ वध" शैलिगत, संरचनागत हिसाबले पृथक छ ।  कथाकार, कवि अविनाश श्रेष्ठका अनुसार, ‘वृषभ वधमा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन् ।’ 
यसअघि नारायण ढकालका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । 

"वृषभ वध" को बारेमा संजिव पोखरेलको बिचार: 

पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने यहाँलाई लाग्छ भने यसभन्दा तल पढ्न आवश्यक छैन – माफ पाऊँ, मैले जति प्रयास गर्दा पनि यो उपन्यास पढ्दैजाँदा ६६ पेजभन्दा अगाडि पढ्न सकिनँ ।
नारायण ढकाल असल मानिस हुन् भन्ने सुनेको छु । उनि राम्रा लेखक हुन् भन्ने पनि अरूबाट सुनेको हो । तर, उनको यो उपन्यासमा मैले आफ्नो ध्यान टिकाइरहन सकिनँ । पूरा नपढेको यो उपन्यासमाथिको मेरो समिक्षा यसप्रकारको छ ।
उपन्यास सुरु हुन्छ काठमाडौँ नजिकैको कुनै काँठको ग्रामीण परिवेषको वर्णनबाट –जहाँ एक प्रधानपञ्च सत्तासँग नजिक रहेर शक्ति विस्तार गरिरहेछ र बाँकी गरिब, निमुखा गाउँलेहरू उसको बढ्दो शक्तिका अगाडि निरिह छन् । त्यो गाउँमा शक्तिशाली प्रधानपञ्च छ, दरबारसँग नजिक पहुँचवाला केही परिवार छन्, पुलिस-प्रशासन छ र बाँकी निरिह, गरीब, सोझा गाउँले छन् । प्रधानपञ्चले सत्ताको निकटताको उपयोग गर्दै गाउँलेमाथि दमन गर्न खोज्छ, गाउँलेहरू यसबाट प्रताडित छन् तर प्रतिकार गर्न सक्दैनन् ।
यसभन्दा अगाडि के छ मलाई थाहा छैन । बाँकी भाग पढ्ने योजना पनि छैन । किन ? यसको वर्णन तल गरेको छु ।
कथा पूरानो छ । मेरो विचारमा अत्यन्त बढी प्रयोग भएको । तानाशाही पञ्चायत व्यवस्था, सामन्ती प्रधानपञ्च र निमुखा गाउँलेको कथा लगभग नेपालमा दन्तेकथा जस्तै भइसकेको छ । कमसे कम दुई दर्जन यस्ता कथा विभिन्न genre मा मैले पढेँ होलाँ । त्यसमा नजाऊँ । नयनराज पाण्डेको "उलार" वा "लू" पनि नयाँ कथावस्तुमा रचिएका उपन्यास होइनन् । तर, ति पठनीय छन् ।
ढकालको "वृषभ वध" उच्चाटलाग्दो हुनुको कारण लेखकका कोरा राजनीतिक वर्णन् हुन् जसले सुरुदेखि नै मलाई वाक्क बनाए । उपन्यासमा प्रयोग शब्दावली, पात्रका अभिव्यक्ति र घटना वा स्थानको वर्णन कतै स्वभाविक र सहज लाग्दैनन् । गरीब र निमुखा गाउँलेले सुन्दै पट्यार लाग्ने त्यसबेलाका राजनीतिक 'जार्गन' फटाफट बोलेको पढ्दा उत्पात झर्को लाग्यो मलाई । लेखकका वर्णन अस्वभाविक रूपमा यति विस्तृत छन् कि पाठकलाई कल्पना गर्ने, दिमाग लडाउने कुनै ठाउँ छैन । कल्पनाशीलता देखाउन लेखकले तन्काएका वर्णनहरू कृतिम र अस्वाभाविक लागे मलाई –पहिलो पेजदेखि नै ।
लेखक र प्रकाशक दुबैप्रति क्षमा माग्दै म यो भन्न चाहान्छु कि मेरा लागि नारायण ढकालको "वृषभ वध" पढ्नु लगभग सजाय जस्तै भयो । यो स्वीकार्य नभएर बाँकी भाग पढ्ने लेठो गरिनँ ।
तर पनि "वृषभ वध" किनेकोमा मलाई पछुतो छैन । किताब किनेको हुनाले अरूलाई यतिचाहिँ भन्न सक्छु –किनेको हुँ, पढ्न पनि खोजेको हुँ, रस बसेन, पूरा गरिनँ । [नोट: मेरा टिप्पणीलाई आधार बनाएर पुस्तक किन्ने वा नकिन्ने निर्णय नगर्नुहोला । मसँग खारिएको साहित्यिक चेत छैन ।] (संजिव पोखरेलको ब्लग)

नयनराज पाण्डेको बिचारमा  वृषभ वध

लेखक नयनराज पाण्डे भन्छन्, ‘वृषभ वध सरल भाषा र प्रवाहमय शैलीमा बुनिएको रोचक कथानकसहितको तिख्खर राजनैतिक चेत बोकेको उपन्यास हो । २०१७ सालपछि प्रजातन्त्रको दमनसँगै उदय भएको पंचायती व्यवस्थाका वाहकहरुको अराजनीतिक चरित्र र त्यसका विरुद्ध उम्रँदै गएका प्रतिकारका स्वरहरुको जीवन्त अभिलेख पनि हो यो । आजभन्दा झण्डै साढे पाँच दशकअघिको समय र परिवेशलाई कथानकको विषय बनाए पनि यो उपन्यास कतै न कतै आजको क्षयग्रस्त राजनैतिक चिन्तन र चरित्रसित पनि जोडिन पुगेको छ । यही नै यो उपन्यासको सफलता हो ।’

कुमार नगरगोटी बिचारमा  वृषभ वध

कथाकार कुमार नगरगोटी  भन्छन्,  ‘निरङ्कुश पञ्चराजको आततायी प्रपञ्च एवं अश्लिल राजनीतिक रोमाञ्चलाई उपन्यासमा मिस्टर ढकालले सुरुचीपूर्ण शैलीमा चित्रण गरेका छन् ।’ उनी थप्छन्, ’जीवन्त पात्रहरुको मेटाफोरिकल आविष्करण, एक्स्ट्रा लार्ज न्यारेटिभस्, काँठ वरपरको ग्रे–राजनीतिक ल्याण्डस्केप प्लस काडमाडौंका प्राचिन गल्लीहरुको लार्जर–देन–लाइभ विम्बहरु यो उपन्यासका पूँजी हुन् । त्यस अर्थमा मिस्टर ढकाल पूँजीपति भएका छन् । उपन्यासको ओपन इन्डेडनेसको जुन द्धार खोलिएको छ, मलाई लाग्छ त्यही द्धारबाट पाठकले ढकाल ह्याङओभरको परकम्पनसितै आफ्नो अलग मानसिक यात्रा तय गर्नेछ । वृषभ वध अर्थात् काँठ भर्सेस काठमाडौंको एक कोलाजमय म्याजिकल आख्यान १ नेपाली आख्यान साहित्यको एक म्याजिकल उपलब्धी ।’ 

Thursday, July 16, 2015

खैलौना - राजेन्द्र थापाको उपन्यास समीक्षा

नेपली मोडल स्मिता थापाको अन्तरबार्तामा "मलाई लोग्ने होइन लोग्ने मानिस चाहिन्छ" भन्ने अभिव्यक्ति पढे पछि पत्रकार र लेखक राजेन्द्र थापाले 'खैलौना' उपन्यास लेखेका हुन । यो उपन्यास मोडल स्मिता थापा को जिबनी मा नै आधारित बनाएर 'युवा बयस्क' बर्गलाइ भनेर लेखिएको राजेन्द्र थापा बताउछन् ।
गितकार तथा कबि राजेन्द्र थापा द्वारा लिखित उपन्यास 'खेलौना'ले स्मिता थापाको मोडल जीबनको उतारचडावलाइ सटिक ढङ्गले शब्दमा उतारेलो छ।
यो पुस्तकको भूमिकामा जगदिश घिमिरेले यसलाई क्रान्तिकारि 'डकुमेन्टरी उपन्यास' भनेर नामाकरण गरेका छन।
उनी लेख्छन्, "यो एक फरक धारको यौन बिषयक उपन्यास हो। बिश्वका सबै भाषामा यौन आख्यान लोकप्रिय छन। तिनको मूल लक्ष्य हल्का-फुल्का मनोरन्जन हो। तर यस उपन्यासको बिषय मनोरन्जन होइन, यस उपन्यासका बिषय हुन - नेपाली समाजमा यौन प्रतिको बदलिँदो दृष्टिकोण, मुल्य, मान्यता र अभ्यासमा भएका क्रान्तिकारि परिबर्तनहरु।"
जगदिश घिमिरेले भनेको जस्तै 'खेलौना'ले नेपाली समाजको परम्परागत शैलीको यौन सोचाइलाई स्मिता पात्र र लेखक इन्द्र पात्र मार्फत पठनीय शैलीमा उतारिएको  छ ।
यस अर्थमा प्रेम यात्रा भनेको सेक्स यात्रा र सेक्स यात्रा भनेको जिबन यात्रा हो त ?
अश्विनी कोईरालाले कान्तिपुरको "साप्ताहिक"को लागि भनेर लिएको अन्तरबार्ता मा भनेको लोग्ने र लोग्ने मानिसको कुरालाइ नै मुख्य थिम बनाएर लेखिएको यो उपन्यास तीस दिनमा नै लेखेर पाठक सामु प्रस्तुत गरिएको हो ।
नेपालमा यस किसिमको उपन्यास लेखन शैलिलाई नौलो मान्नु को साथै यौन बिषयमा लेख्नु संकोचपूर्ण कार्य मानिन्छ। तर, यौन जस्तै यौन साहित्य पनि अहिलेका युवा पुस्तालाई उत्तिकै खाँचो भएको कुरा उपन्यास भित्रकी पात्र स्मिता को निम्न भनाई ले थप पूष्टि गर्दछ:
एक सोह्र बर्षे केटीलाई यौन बिषयका कुरा ४० बर्षिय एक बाहिरिया मानिसले सिकाउछ न कि हाम्रो शिक्षा पद्दतिले। एदि यसकिसिमको यौन शिक्षा बिध्यालय स्तरमै सिकाइन्थ्यो भने त्यस किसिमको शोषणपूर्ण् सिकाइ झेल्नु नै पर्दैन थियो। 
हाम्रो पुरातान इतिहासलाई सम्झदै उपन्यासकी पात्र भन्छिन, 'कुन्ति र द्रौपती पन्चकन्यामा पुजिन्छन् भने म पनि कन्या किन नहुने?' यस्ता तथ्यपरक र कौतुहलता पूर्ण सम्बादले पाठक उपन्यासमा बाँधेर राख्न सक्षम भएको मान्न सकिन्छ।
उपन्यासका केही सम्झन लायक अंशहरु निम्न छन:
सेक्स बैध वा अबैध हुन्न तर पराषर ऋषि र मझिनिको डुङ्गा-सेक्स मस्तिको नतिजाबाट जन्मेका ब्याँस कसरि पुजनिय हुन्थे त ? अबैध गर्बाधारण बाट जन्मेकि मत्स्यगन्धा कसरि हस्तिनापुरकि महारानि हुन्छे त ? ब्याँस बाट अबैध रुपमा महारानि र दासिहरु बाट जन्माइएका धृतराष्ट्र, पान्डु तथा बिदुर कसरि महाराजा तथा प्रधानमन्त्रि भए त !
तेस्तै:
म पुरुष ... , त्यसैले घरबाट असन्तुष्ट भएर क्षणिक बहकिएको ... चोखिन गोदान समेत गर्न नपर्ने ... त्यसैले झरेपनि गोबरजस्तो, त्यहिबाटै झरेपनि गहुँत जस्तो पबित्र , बरु अरु अपबित्रहरु लाइ पबित्र बनाउने ... तर स्मिता भने गुमुत ! 
समाजमा भएका यौन सम्बन्धी नकारात्मक धारणाहरूलाइ उत्तेजक पाराले चिर्दै नेपाली समाजमा रहेको नकारात्मक सोचलाइ केहि मात्रामा भए पनि कम गर्ने प्रयास गरेका छन् ।
स्मिताको बोली:
सबै भन्दा काला चरित्र भएकाहरुले नै बढि हल्ला मच्चाए। सायद उनीहरुले मोज गरेको या बल्तकार गरेको वा स्वास्नि छलेर सुत्न गएका आइमाईहरूले मैले जस्तै पोल खोलिदेला भनेर त्रसिएका हुन सक्छन। .. ..  घरको भोकले सडकमा फोरहनै देखेपनि सालको बोहतामा पस्केको तातो मोमो पनि लपालप खाइहाल्छ भने मजस्तो पाँचतारे देखेपछि बफेमा प्लेट बोकेर लाईनमा को नबस्ला र ।
"खेलौना" स्मिता पात्रको यौन कथा र बिचार को साँगालो भने हुन्छ । नेपाली समाजको संकीर्ण सोच र सो सोच किन गलत छ भन्ने कुरा र बदलिँदो समयमा अहिलेका युवापुस्ताको लागि यौन शिक्षा किन आबश्यक छ भन्ने कुराहरु पनि यो उपन्यासमा समेटिएका छन् । यस हिसाबले मनोरन्जनका साथ साथै यो रोचक कथामा सन्देश् पनि लुकेको र सबैलाइ पढदा उपयोगी हुने मान्न सकिन्छ ।

Sunday, July 12, 2015

जुकरबर्गको क्याफेमा एकैछिन

लेखिका - सुमन मञ्जरी

भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ ।

आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचेर उठाएँ 'जुकरबर्गको क्याफे'लाई एक हातमा र बसे अर्को हातमा आफैँले बनाएको कालो कफी साथी राखेर । ओल्टाई पल्टाई हेरेँ मुसुक्क मुस्कुरायो 'जुकरबर्गको क्याफे' मेरो माया पाएर । किताब पल्टाएँ कथा-क्रममा कथाहरू गने २४ वटा रहेछन् ।

मूलतः प्रेमलाई विषयवस्तु बनाई लेखिएका छोटा कथाहरू जुकरबर्गको क्याफेमा रहेका छन् ।  साप्ताहिक लगायतका पत्रपत्रिकामा पहिले अश्विनी कोइरालाका लेखाइ नपढेका पाठक पनि पहिलो कथा 'ईला मिसको पत्र' पढिसक्दा नसक्दै पाठक उनको लेखाइ प्रति आकर्षित भइसक्छ । तर, कथाक्रम अगाडि बढ्दै जाँदा पछिल्लो क्रमका कथाहरू पहिलो कथाको उच्च प्रभाव टिकाइराख्न भने कठिन नै छ । कुनै कुनै कथालाई कथा भन्दा अनुभव/अनुभूति वा स्मरणात्मक लेख भन्दा राम्रा लाग्छन् तर पढ्दा बोर भने ती पनि छैनन। 'सन्नी लियोन', 'असल खराब', 'म्याक्सीवाली' जस्ता केही कथाहरू वास्तविक जीवन भन्दा बढी फ्यान्ट्यासीका निकट देखिन्छन् । 'युवकको प्रेममा' भन्ने छोटो कथा सुरुवातमा निकै हास्यात्मक तरिकाले थालिएको भए पनि यसको अन्त्य भने गम्भीर किसिमबाट भएको छ ।

हरेक व्यक्तिसँग कम्तीमा पनि एउटा (कसैसगँ दुइ/तिनवटा पनि होलान्) स्मार्टफोन रहेको आजको नेपाली समाजका युवा पुस्ता र इन्टरनेटको सहजताका कारण सामाजिक सन्जालबाटै कतिपय प्रेम सम्बन्धहरूको स्थापना भएका यावत उदाहरणहरू हाम्रा सामू आइरहेकै छन् । कथाकार अश्विनीले पनि ती विषयवस्तुलाई पक्कै छुटाएका छैनन् । सामाजिक सन्जाल हुँदै स्थापित हुने सम्बन्धहरू, पुराना सम्बन्धहरूलको नवीकरण र हालखबर सोधनीको माध्यमका रूपमा प्रयोग हुने फेसबुकको उल्लेख गरेका छन् । किताबको नाम नै फेसबुकका निर्माता मार्क जुकरबर्गको नामबाट राखेकैबाट पाठकले फेसबुकका किस्साको आशा कथा पढ्नु भन्दा पहिलै गर्न सक्छन् । युवा मनोविज्ञान, प्रेम, विवाह, यौनजस्ता विषयवस्तुलाई मूल रुपमा स्वीकार गरिएकैले पनि यस कथा सङ्ग्रहले युवा पिँढीका पाठकको अपेक्षा राख्छ । प्रेमका मामिलामा पनि अझ महिला पात्रहरूको उपस्थिती ज्यादा छ । समग्रमा भन्दा प्रेमको केन्द्रियतामा रही जटिल युवा मनिविज्ञान, प्रेम प्राप्तीको सुन्दर संसार र प्रेम त्याग(बिछोड) पछिको निस्सार मानसिकतालाई कथाले केलाउन सफल भएको छ । भूकम्पका धक्काहरूको ह्याङओभरबाट केही हदसम्म राहत दिन किताब सक्षम छ ।

पुनश्चः यसलाई किताब पढेपछि मेरो मनमा उठेका व्यक्तिगत भावहरू/अनुभवका रूपमा मात्र बुझ्नु जरूरी छ । :)