Wednesday, December 10, 2014

पीडाअवतार – गोवर्धन पूजा

मन्तव्य - प्रा.डा. दुर्गाप्रसाद भण्डारी

Download - https://itunes.apple.com/us/book/pidaavatara/id633171719?ls=1

गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै थोक भैसकेका रहेछन् : कवि, कथाकार, उपन्यासकार, गजलकार, नियात्राकार, मुक्तककार आदि । एक थोक मात्र भैदिएको भए मन्तव्य दिन मलाई सापेक्षतः सजिलो हुन्थ्यो । धेरै विधाका सर्जक भएका हुनाले उनको यो सङ्ग्रह बारे मन्तव्य दिन त्यति सजिलो प्रयास होला जस्तो लाग्दैन ।
उनका कविताहरू पढिसकेपछि म एक सत्यको सम्भावनाबारे भने सुनिश्चित छु : गोवर्धन पूजाका उपन्यास र कथाहरूमा पनि एक प्रकारको काव्यात्मक (लिरिकल) दृष्टिले आफ्ना कथानकहरूको उतारचढावको व्यवस्थापन गरेको होलान् अर्थात् बुद्धि पक्षभन्दा बढी हृदय पक्षको उपस्थिति त्यहाँ हुनुपर्छ ।
यो सङ्ग्रह पाठकको अनुभवको आधारमा मात्र उनका अरू विधाहरूको चर्चा गर्नु न्यायोचित हुँदैन । तर गोवर्धनको सिर्जना यात्रामा विचारभन्दा बढी भावनाको प्रधानता हुनुपर्छ ।
यो सङग्रहमा जति कविताहरू छन् ती सबै कविताहरूको स्वादमा एकरसता छैन । केही मात्रामा बहुरसता छ । गोवर्धन पूजा आफ्नो हृदयप्रति इमानदार देखिन्छन् । उनका यी काव्यात्मक अभिव्यक्तिहरूमा स्वाङ, कृत्रिमता र पाखण्डताको अभाव पाइरहेको छु । यही अर्थमा मैले इमानदार भन्न खोजेको हुँ ।
आफ्नो आन्तरिक पीडा, आनन्द र विद्रोहका लहरहरूलाई सकेसम्म नयाँ शब्दविन्यास र नयाँ बिम्ब योजनाको अभ्यासद्वारा प्रकाशित गर्न चाहन्छन् र वर्तमान नेपाली काव्य जगत्लाई समग्रतामा निरिक्षण र समीक्षा गर्ने हो भने गोवर्धन पूजा केही चुनिएका चम्किला अरू बढी काव्यात्मक सम्भाव्यता बोकेका नयाँ आधुनिकतम् कविहरूमध्ये उपेक्षा गर्न नसकिने एक हुन् भन्ने मेरो विश्वास छ ।
उनले आफ्नो हृदयको धर्म पूरा गरेका छन् पीडाअवतारमा । सङ्ग्रहको यो शीर्षक आफैमा प्रतिकात्मक ध्वनि लिएर आएको छ । कवि हृदयको मौलिक धर्म हुन्छ कि ऊ आफ्ना भाव र आवेगलाई बाह्य जगत्सित मिलाइ दिन चाहन्छ । ऊ आफै स्वतः पूर्ण हुँदैन । आफ्नो भित्री सत्यलाई बाहिर सत्यरूपमा प्रतिष्ठित गरेर जीवन प्राप्त गर्दछ । यदि हृदय आफैलाई बाहिर प्रकाशित गर्न सक्तैन भने उदासीनता उसको स्थिति हुन्छ र हृदयको लागि उदासिनता पनि एक प्रकारको मृत्यु हो । अप्रकाशित सिर्जनात्मक हृदयहरू अक्सर विक्षिप्तताको सिमानाको वरिपरि मडारिरहन सक्छन् ।
प्रकाशनको अर्थ लेख, चित्र र सङ्गीतको माध्यमबाट हुने विरेचनालाई लिइन्छ तर धरै अपवादहरू छन् जो ती माध्यमहरूको सहारा नलिएर पनि प्रकाशन पाउन सक्छन् । त्यस्ता व्यक्तिहरू आआफ्ना क्षमता अनुसार आफ्नो हृदयलाई अभिव्यक्ति दिइरहेका हुन्छन् एक कर्मशील सामाजिक कार्यकर्ता, गृहस्थ शिक्षक या अरू पेशेवर । मदर टेरेसादेखि लिएर सुकरात, बुद्ध, रमण महर्षिसम्म । शब्दको प्रयोग बुद्धहरूको बाध्यता हो । तिनीहरूको वास्तविक सिर्जनशीलताको स्थिति मौन नै हो । तर गोवर्धन पूजाहरूको हृदय गोचररूपमा अप्रकाशित रह्यो भने त्यहाँ सङ्कुचन र खुम्चाहट आउन सुरु गर्छ । ‘पीडाअवतार’ उनको आन्तरिक बेचैनीको बाहिरी अवतरण हो ।

जब म कविता लेख्न थाल्छु
श्रीमती रित्ता भाँडा बजाउँदै
भान्छामा अभाव राग अलाप्न थाल्छिन् ।
        ०००
भातको कसौँडीमा चामल नखस्दा
म आकाशतिर हेरेर भन्छु– सन्तोषं परमो सुखम्
तब मनमा एउटा प्रश्न जन्मिन्छ
के कवि र बुद्ध भनेको एउटै व्यक्ति हो ?       
(कवि र बुद्ध)
        ०००
लाग्छ यो परिवर्तन जीवन हो
र जीवनको रङ पानी हो           
(नदी र जीवन)
        ०००
नसोध उसलाई गुराँस रमाएको कुरा       
(लालीगुराँस र ढाक्रेदाइ)
        ०००
सुनसान पोखरीभित्र
बल्छीतिर तानिएको माझाझैँ
स्वच्छ आकाशको एक छेउमा रमाइरहेको छु        
(सोलुखुम्बूमा)
        ०००
आँसु पछि हाँसो आउँछ भन्थे
खोइ हजुर ?               
    (दुःखको भेलबाढी)
        ०००
लाग्दछ यो सुस्ताइलाई सुन्दा
कसको मनमा छैन र ज्वालामुखी   
(कसको मनमा छैन र ज्वालामुखी)
        ०००
तिमी यति सुन्दरी किन भयौ
यो कुरूप संसारको संरचनामा   
    (दुबिधा)
        ०००
लेख्नुपर्ने पनि लेखियो
नलेख्नुपर्ने पनि लेखियो
तर एउटा कुरा लेख्नै सकिएन
जुन तिमीले लेखोस् भन्थ्यौ
हाम्रो मिलनको मिति       
    (रङ्ग हराएको क्षितिज)
        ०००
साँच्चै ए प्रताप !
यो प्रेमको परिभाषा
किन यसरी बदलिँदो हो ?   
    (रानीपोखरी)
विभिन्न कविताहरूबाट लिइएका हुन उक्त पङ्क्तिहरू । मेरो अनुभूतिमा प्रत्येक पङ्क्ति काव्यात्मक र रसात्मक छ । संस्कृत साहित्यका काव्य सिद्धान्ताचार्य विश्वनाथको भनाइको सम्झना आउँछ गोवर्धन पूजाका ‘पीडाअवतार’भित्र सङ्कलित धेरैजसा कविताहरूमाथि मनन् गर्दा । विश्वनाथ ठोकेर भन्छन् : काव्यम् रसात्मकम् वाक्यम्, अर्थात् कुनै पनि रसपूर्ण वाक्य वा पङ्क्ति कविता हो, काव्य हो । यही कुरालाई इटलीका सुप्रसिद्ध दार्शनिक तथा सौन्दर्यशास्त्री वेनेडिटो क्रोचेले ‘क्यान्सुला डिग्ना’ भनेर अति सङ्क्षेपमा भने । यी दुई शब्दहरूको अनुवाद हुन सक्छ । सौन्दर्य र रसको गहनता बोकेको उक्तिलाई काव्यात्मक भन्न सकिन्छ ।
क्रोचेको भनाइमा प्रत्येककला वा कविता अनुवाद मात्र हो । कवितालाई लिपिबद्ध गर्नासाथ वहिर्करण हुन्छ । प्रत्येक वहिर्करण मूल स्रोतबाट टाढिएको हुन्छ । पाठकहरूका लागि आनन्ददायी हुन्छ । विरेचनात्मक हुन्छ । लोकमानसको हितमा हुन्छ । तर मौलिक स्रोत शुद्धताबाट टाढा भएको हुन्छ । त्यसैले प्रत्येक कलात्मक अभिव्यञ्जना क्रोचेको दृष्टिमा रूपान्तरण हो हृदय र बुद्धिभित्र प्रस्फुटित भएका भाव र विचारहरूको । विश्वनाथ र क्रोचेको भनाइ कुनै राम्रो अभिव्यञ्जनका लागि लागू हुन्छ । गेटेदेखि गोवर्धन पूजाका रचनाहरूमा विस्तारित गर्न सकिन्छ, ठूलो र सानो कलाकारमा लागू गर्न सकिन्छ ।
गोवर्धन पूजाका यी कविताहरूमा विराट र क्षुद्र कुनै स्थलहरूमा साथसाथै गइरहेका हुन्छन् । जीवनमा सौन्दर्य र ऐश्वर्य मात्र छैन । यहाँ कुरूपता पनि छ दुर्गन्ध छ ‘वोरडम’ निभ्रान्ति छ । यो युगमा एकतर्फी रूपले रूमानियतामा अल्झिरहने व्यक्ति प्रतिनिधि लेखक वा कलाकार हुन सक्तैन । अभिव्यञ्जना शैलीको शक्तिबाट मानवजीवनका कुरूप यथार्थहरूबाट सौन्दर्यानुभूति दिन सक्ने साहित्यकार नै असली साहित्यकार हुन्छ भन्ने मेरो मान्यता छ । गोवर्धन पूजा केही सीमासम्म भए पनि यो शिल्पमा सफल देखिन्छन् । ‘जब म कविता लेख्न थाल्छु, श्रीमती रित्ता भाँडा बजाउँदै भान्छामा अभाव राग अलाप्न थाल्छिन् ... ... तब मनमा एउटा प्रश्न जन्मिन्छ र कवि र बुद्ध भनेको एउटै व्यक्ति हो ? ।
अति सामान्य र अति असामान्यको मिलन हुन्छ यी पङ्क्तिहरूमा । मानव जीवनको अति उपयोगिता तर क्षुद्र धरातल र मानव जीवनको उच्चतम शिखरका बिम्बहरू छन् : भान्छा, भाँडा र बुद्ध । गोवर्धन पूजाले केवल उक्ति वैचिœयका लागि कवि र बुद्धलाई एकसाथ राखेका छन् । वास्तवमा अन्तिम आध्यात्मिक विश्लेषणमा असली कवि, आत्यन्तिक कवि मुक्त ऋषिहरू हुन्छन्, बुद्धहरू नै हुन्छन् । कालिदास, दाँते र सेक्सपियर प्रभृतिहरूको अचेतन आकाङ्क्षा पनि मुक्ति नै हो, बुद्धत्व नै हो । अहिले यो सामान्यतः दुर्वोध्य, गहन पक्षबारे यति मात्र भन्न चाहन्छु– पछि उचित अवसरमा म यसको व्याख्या गर्नेछु ।
गोवर्धन पूजा पीडाअवतारमा आफ्नो सीमित परिवेशबारे मात्र सचेत छैनन्, त्योभन्दा परको जीवन र जगत्बारे पनि स्वप्नशील छन् । मानव यथार्थतः एक स्वप्नशील प्राणी हो । कवि सबै प्राणीहरूभन्दा बढी स्वप्नशील हुन्छ जसलाई सिग्मन्ड फ्रायड न्यूरोसिस भन्छन् । उनको विचारमा प्रत्येक कलाकार न्यूरोटिक हुन्छ र आफ्नो भाव प्रकाशनहरूबाट अस्थायी स्वतन्त्रता पाउँदछ । मलाई विश्वास छ गोवर्धन पूजा पीडाअवतारको प्रकाशनपछि एक विचित्र प्रकारको विरेचनको अनुभूति पाउने छन् ।
कविको कल्पना घुमिरहेछ सम्पूर्ण सङ्ग्रहमा भूत, वर्तमान र भविष्यतिर । कहिले उनी रानीपोखरीलाई प्रेम स्मारकको रूपमा लिन्छन् र प्रताप मल्ललाई सम्झन्छन्– साँच्चै ए प्रताप ! यो प्रेमको परिभाषा किन यसरी बदलियो ? अर्को ठाउँमा कवि गोवर्धन पूजा अति मार्मिक अभिव्यक्ति दिन्छन् जसलाई उनको आफ्नै जीवन र कृतित्वमाथि काव्यात्मक टिप्पणीको रूपमा लिन सकिन्छ, उनको असीमित क्यानभासको रूपमा लिन सकिन्छ, सिर्जनात्मक असन्तोषको रूपमा लिन सकिन्छ, प्रथम प्रणय उन्मेषको स्मृति मिठास र स्मृति पीडाको रूपमा लिन सकिन्छ ।
लेख्नुपर्ने पनि लेखियो
नलेख्नुपर्ने पनि लेखियो
तर एउटा कुरा लेख्नै सकिएन
जुन तिमीले लेखोस् भन्थ्यौ –
हाम्रो मिलनको मिति ।